गोरखामा भदौ १ गतेदेखि भदौ ११ गतेसम्‍म निषेधाज्ञा, पसल बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने

Sky Dainik आइतबार, साउन ३१, २०७८

गोरखा,साउन ३१। गोरखामा कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै भदौ १ गतेदेखि भदौ ११ गतेसम्म निषेधाज्ञा गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जनाए अनुसार आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार अत्यावश्यक सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खुल्नेछन् । अत्यावश्यक अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध, दही, माछामासु, कृषिजन्य बिउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल, निर्माण सामग्री बिक्री गर्ने पसल, वर्कशप लगायतका पसलहरु पर्दछन् । यस्तै औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहने छ ।

जिल्लामा कोरोना संक्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नुपरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जनाएका छन्। गोरखामा पछिल्लो पटक निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसैलाई भदौ ११ गते राति १२ बजेसम्म निरन्तरता दिँदै थप कडाइ गर्ने निर्णय भएको हो ।

बैठकले गरेको निर्णय अनुसार सहकारी, बैङ्क तथा बिमा कम्पनी लगायतका वित्तीय संस्थाको सेवा पनि बन्द हुनेछन् र बैकको हकमा गोरखा नगरपालिका भित्रका बैकले सम्पर्कको आधारमा आकस्मिक सेवा मात्र प्रवाह गर्न पाउने छन् ।

यहाँ कमेन्ट गर्नुहोस्