२४ घण्टामा थपिए २ हजार २१२ जना कोरोना संक्रमित, ३३ को मृत्यु

Sky Dainik आइतबार, साउन ३१, २०७८

काठमाडौं,साउन ३१। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार दुई सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आठ हजार ८८ जनाको पीसीआर र चार हजार १८ जनाको एन्टिजेन गरी १२ हजार एक सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार दुई सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख सात हजार चार सय दुई पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ९२ जना पुगेको छ ।

यससँगै उक्त अवधिमा एक हजार आठ सय ६७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको छ ।

अहिले नेपालमा ३९ हजार दुई सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ५८ जनाको आईसीयू र एक सय ९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा पाँँच सय २२, कास्कीमा दुई सय ८७, ललितपुरमा एक सय ५४, मोरङमा एक सय ४१ र सुनसरीमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्