Sky Dainik आइतबार, साउन २४, २०७८

काठमाडौं,साउन २४। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार पाँच सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ९ हजार ३३ जनामा पीसीआर परीक्षण गर्दा २ हजार एक सय ३७ जना र ३ हजार तीन सय ४५ जनामा एन्टिजेन परीक्षण गर्दा चार सय ११ गरी २ हजार पाँच सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो । अहिलेसम्म नेपालमा सात लाख ८३ हजार तीन सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाले ज्यान गुमाएका छन् भने हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।
यस्तै निषेधाज्ञाको समयमा सङ्क्रमित घटेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको भए पनि केही दिनदेखि अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा थप दुई हजार २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार दुई सय ९९ जना पुगेको छ ।
यस्तै हाल देशभर आठ सय २ जना आईसीयुमा रहेका छन् भने एक सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । र अहिले नेपालमा ३५ हजार चार सय ८५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।