सिन्धुपाल्चोक र मनाङलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर मात्र पुग्दैन राहत दिने कामलाई तिव्रता दिनुपर्छः प्रचण्ड

Sky Dainik आइतबार, साउन २४, २०७८

काठमाडौं,साउन २४। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

अध्यक्ष दाहालले आईतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त जिल्ला त घोषणा गर्‍यो तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरू तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरू त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसै कारण तपाईँहरू प्रधानमन्त्रीसहित सबै नेतालाई ध्यानाकर्षण गराउन आउनुपरेको भन्ने मलाई लाग्दछ ।’

उहाँले त्यस क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष दाहालल आफ्नो पार्टीको तर्फबाट पनि त्यस क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि अध्यक्ष दाहालले बताउनु भएको छ ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुनसक्ने बताउँदै त्यसलाई न्यूनिकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताउनु भयो । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उहाँको भनाइ रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्