दार्चुला घटनामा प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौँः गृहमन्त्री खाँड

Sky Dainik सोमबार, साउन १८, २०७८

काठमाडौं,साउन १८। गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने बताउनु भएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिदैँ छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताउनु भयो ।

छानबिन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उहाँले बताउनुभयो । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँको भनाइ रहेको छ ।

मन्त्री खाँडले भन्नुभयो, ‘हामी आफैले छानविन समिति बनाइरहेको अवस्थामा छानवीनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौँ । र त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडी बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिवद्ध रहेको म मान्यज्यूहरुलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छु ।’

उहाँले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताउनु भएको छ ।

उहाँले उक्त दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्द, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविनको लागि घटनास्थलमा खटिएको बताउनु भयो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढमा रहेको जिल्लाधिकारीलाई त्यस घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उहाँले जानकारी दिनुभयो । जयसिंह धामी भन्दा अगाडि त्यस ठाउँको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको गृह मन्त्री खाँडले बताउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्