बितेको २४ घण्टामा थपिए २ हजार ५ सय ६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्‍यु

Sky Dainik आइतबार, साउन १७, २०७८

काठमाडौं,साउन १७। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार पाँच सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आठ हजार चार सय दुई जनाको पीसीआर र चार हजार दुई सय ३४ जनाको एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ भने योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ७५ जना पुगेको छ ।

मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमणमुक्त भएसँगै कोरोना निको हुनेको सङ्ख्या ६ लाख ५६ हजार एक सय ९७ जना पुगेको छ ।

आइतबार थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार दुई सय ९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार दुई सय ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ७७ जना आईसीयू र एक सय ६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना स‍ंक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका एक सय ५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्