संक्रमण ह्वात्तै बढेपछि प्रदेश १ मा फेरि सुरू भयो निषेधाज्ञा

Sky Dainik सोमबार, साउन ११, २०७८

काठमाडौं,साउन ११। कोरोना भाइरस संक्रमण दर ह्वात्तै बढेपछि प्रदेश १ का विभिन्न जिल्लामा फेरि निषेधाज्ञा र लकडाउनको श्रृंखला सुरू भएको छ।

उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले बुधबार बिहानबाट लागू हुनेगरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवाबाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निर्णय गरेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको सचिवालयले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको हो ।

यस्तै मोरङको उर्लाबारी नगरपालिकाले मंगलबार मध्यरातिदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। यसअघि झापाको शिवसताक्षी नगरले लकडाउन गरिसकेको छ भने झापाका अधिकांश स्थानीय तह सिल भइसकेका छन्। त्यस्तै इलाम र मोरङ प्रशासनले निषेधाज्ञामा कडाइ गरेको छ ।

यससँगै प्रदेश १ मा केही दिनयता कोरोना संक्रमणदर बढेको सामाजिक विकास मन्त्रालयले जनाएसँगै शनिबार १ हजार ९१ जनामा संक्रमण देखिएको प्रदेशमा आइतबार ६ सय ७३ जना संक्रमित थपिएका थिए।

प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसिल र २ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै मोरङ, सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरूलाई भेरोसिल खोप पठाइसकिएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्