Sky Dainik बुधबार, साउन ०६, २०७८

काठमाडौं,साउन ६। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार आठ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार सात सय १५ जनाको पीसीआर परीक्षणमा १ हजार नौ सय १८ र ३ हजार नौ सय १ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी २ हजार आठ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल संख्या ७ लाख २४ हजार चार सय ५५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार चार सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३६ हजार चार सय दुई जना पुगेको छ । मन्त्रालयका अनुसार अहिले नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैगरि बितेको २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ भने योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ३७ जना पुगेको छ ।