शितल निवासमा शेरबहादुर देउवाले लिए प्रधानमन्त्रीको शपथ

Sky Dainik मंगलबार, आषाढ २९, २०७८

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसामु पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि बेलुका ६ बजे हुने भनिएको शपथ ग्रहण झन्डै दुई घण्टा ढिलाइ भएको थियो । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा नै उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको हुनाले विवाद भएको थियो। त्यसपछि देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्