Sky Dainik शुक्रबार, आषाढ २५, २०७८

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार दुई सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार तीन सय १३ जनाको परीक्षण गरे मध्ये पीसीआर विधिबाट ६ हजार छ सय ५७ जनाको परीक्षण गर्दा १ हजार चार सय ७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार छ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० जना संक्रमित भेटिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने हालसम्म ९ हजार तीन सय ४० जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
यसैगरि बितेको २४ घण्टामा थप १ हजार तीन सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार नौ सय २९ जनामा कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छ ।
हाल देशभर सक्रिय संक्रमितको कुल संख्या २६ हजार पाँच सय ९० जना रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार आठ सय ५९ पुगेको छ ।