Sky Dainik सोमबार, आषाढ १४, २०७८

१४ असार, काठमाडौं । काठमाण्डौ उपत्यकामा भोलि बाट सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा बढी सार्वजनिक गाडीलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको हो ।
उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । सिट क्षमताभन्दा धेरैको सङ्ख्यामा यात्रु नराख्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी ठूला गाडी चलाउन दिने निर्णय भएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । सार्वजनिक गाडी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
त्यसैगरि डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शो–रुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्रीको लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुरेन्ट एवम् फास्टफुड तथा अन्य अर्डर टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिने पराजुलीले जानकारी दिनुभयो ।
विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुने गरी आफ्नो घर वा बसेको ठाउँमा गर्न सकिने र दुई वटा मात्रै गाडी प्रयोग गर्न सकिने निर्णय भएको छ । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रङ्गशालामा हुने दर्शकसहितको खेलकुदलगायत भिडभाड हुने क्षेत्र भने खुल्ला गर्ने निर्णय भएको छैन ।
त्यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरी÷पुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । थपिएको निषेधाज्ञा आउँदो २१ गतेसम्म लागू हुनेछ ।