Sky Dainik शुक्रबार, आषाढ ०४, २०७८

४ असार, काठमाडौं । असार महिनाको पहिलो दिनको साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी २ गते मध्यरातिबाट नदीको केही सतह घटे पनि स्थानीयमा थप संकटको अवस्था भने उत्तिकै रहेको छ ।
बाढीले नदी वरपरका कैयन ठाउँको धरातलीयस्वरुप नै परिवर्तन गरेको छ, र दर्जन भन्दा बढीले बाढीका कारण ज्यान गुमाएका छन् भने करिब ३ सय परिवार घरवारविहीन भएका छन् । नदीले वहाव क्षेत्र बढाउँदै लगेको कारण यो संख्या अझै थपिने अनुमान रहेको छ । नदीको दायाँ–बायाँका लगभग सबै फाँटहरु लेदो र ढुंगाले पुरिएका छन् । बालीनाली, पशु चौपाया, व्यापार व्यवसायमा पुगेको नोक्सानीको हिसाव गरी नसक्ने अवस्था रहेको छ ।
यहाँका स्थानीय पाकाहरुका अनुसार यस्तो बाढी उनीहरुले यसअघि कहिल्यै नदेखेका वा नसुनेका बताउछन् । भूकम्पले समेत सबैभन्दा बढी प्रभावित यस क्षेत्रमा अर्को अकल्पनीय विपत्ति थपिएको छ । पुरानो र यस क्षेत्रकै मौलिक चिनारी बनेका मेलम्ची र चनौटे बजार अब उही स्वरुपमा देख्न कठिन हुने बताएका छन् ।
योसँगै दशकौंको प्रयासपछि बनेका मोटर पुलहरु छिनभरमै भत्किएका छन् । केही छिटपुट बाहेक सबै झोलुंगे पुल पनि बाढीले बगाएको छ, र कैंयन सामुदायिक संरचनामा असर पुगेको छ । तालामाराङ, ग्याल्थुम आदि स्थानका विद्यालयहरु बाँकी रहने, नरहने टुंगो समेत रहेको छैन ।
पहिरो गएको भनिएको क्षेत्र हेरेर फर्केका व्यक्तिहरुले खिचेको भिडियो र उनीहरुले विभिन्न सञ्चार माध्यममा बोलेका कुराबाट मेलम्चीको शीरमा पहिरो आई नदी थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बताइएको छ ।
यस्तै यो बाढीले सडक र मोटर पुलमा पुगेको क्षतिले यस क्षेत्रको यातायात सेवामा आगामी केही वर्ष कठिनाई थपिनेछ । धेरै झोलुंगे पुलसमेत नष्ट भएकाले आवात–जावतमा समस्या हुने भएको छ ।
पछिल्लो समयमा नदीको केहि सतह घटेपछि सिन्धुपाल्चोकको मेलम्ची बजारका बासिन्दा डुवानमा परेको घरमा सामान झिक्न जान थालेका छन् । मेलम्ची नदीमा आएको बाढीले घर र संरचना डुवाएपछि तीन दिनदेखि स्थानीय विद्यालयमा आश्रित स्थानीय वासिन्दा नदीको सतह घटेपछि सामान झिक्न घरमा जान थालेका हुन् ।
बाढीले ल्याएको बालुवा र लेदो माटोले कतिपय घरको तीन तलासम्मै पुरिएको भएकाले अब तत्कालै ती घरमा बस्न सम्भव नहुने भएकाले काम लाग्ने सामान झिक्न थालेका हुन् । बाढीले मेलम्ची र इन्द्रवतीको तटीय क्षेत्रका ४० भन्दा बढी घर डुवानमा परेको छ ।