Sky Dainik शुक्रबार, आषाढ ०४, २०७८

४ असार, काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा परेका छन् । केही दिनदेखि परेको लगातारको वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण ती घर डुबानमा परेको हो ।
घर डुबानमा परेको जानकारी पाएलगत्तै जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्य ठाउँमा सारिएको छ । नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि यहाँका मानिस दुई÷तीन दिनदेखि घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्तै सारेको पीडित सुदर्शन रायले बताएका छन् ।
दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ । गाउँपालिका अध्यक्ष कुँवरले बताए अनुसार दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको छ ।
नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताएका छन् । समितिले बिहीबार डुबान क्षेत्रको स्थलगत अनुगमन गरी बाढी तथा डुबान प्रभावितलाई तत्काल आवश्यक पर्ने खाद्य तथा गैरखाद्य सामग्री गाउँ÷नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गर्ने र स्थानीय तहबाट पहिचान भएको र थप आवश्यक सामग्री व्यवस्थापनका लागि प्रभावितहरूको विवरण यकिन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय वाग्मती प्रदेशमा अनुरोध गर्ने निर्णय गरेको छ ।
बाढीका कारण दोलालघाटमा रहेको पक्की पुल रहेको स्थानमा नदीले बगाएर ल्याएको ढुङ्गा, गिट्टी, बालुवा आदिका कारण नदीको उचाइ बढेकाले तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत जिल्ला समितिले निर्णय गरेको छ ।