काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्बियो, पुस्तक र हार्डवेयर पसल बिहान ११ बजेसम्म खुल्ने

Sky Dainik आइतबार, जेठ ३०, २०७८

३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जेठ मसान्तसम्मका लागि जरी गरेको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय भएको छ । नयाँ शैक्षिक सत्र यही असार १ गतेदेखि सुरु हुन लाग्दा पनि पुस्तक पसल बन्द हुँदा विद्यार्थीले पुस्तक नपाएको गुनासो बढेपछि बिहान ११ बजेसम्म पुस्तक पसल खोल्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् ।

यस्तै यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्यो भने खाद्यान्न, तरकारी तथा फलफूलको पसल खोल्ने अवधि दुई घण्टा थपेर बिहान ११ बजेसम्मका लागि पुर्‍याइएको छ ।

यस्तै हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खुल्ने निर्णय भएको छ भने कृषिको समय भएकाले कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी कुनै निणर्य भएको छैन् । उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ ।

यहाँ कमेन्ट गर्नुहोस्