Sky Dainik बिहिबार, जेठ ०६, २०७८

६ जेठ,काठमाण्डौ- नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पार्टीका नेताहरु सहित आज सिंहदरबार पुगेको देउवाले प्रधानमन्त्री ओलीलाई कोेरोना रोकथाम तथा नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
उक्त पत्रमा सरकारले विगतका गल्तीबाट केहि सिक्न नसकेको र कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सुझाव तथा सल्लाहरुलाई आत्मासाथ नगरिएको बताएका छन् । कोरोना फैलिनुका कारण सरकारको चरम लापरवाही रहेको उल्लेख गरेका छन्।
यस्तै कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन,र अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरिदमा भएको अनियमितताको छानबिन गर्न समेत उनले माग गरे ।ध्यानाकर्षण पत्रमा देउवाले स्वास्थ्य मन्त्रालयमा रहेको प्राविधिक सचिवको स्थान खालि राखेर सरकारले मन्त्रालयको प्रभावकारितालाई कमजोर पारेको आरोप लगाएका छन् ।
सरकारसँग राज्यको स्रोत साधन र संयन्त्र भए पनि जनताका पक्षमा प्रभावकारी काम नगरेको देउवाको भनाइ छ। कोरोना संकटका बेला गम्भीर भएर काम गर्न र सबै नागरिकलाई खोप लगाउन पनि देउवाले माग गरेका छन् ।
कोभिड–१९ महामारीको पहिलेको चरणभन्दा यो चरण धेरै भयावह रहेको ले सङ्क्रमण दर र मृत्यु दर उच्च गतिमा बढेको छ । कोरोनाको पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरूपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको भन्दै देउवाले ध्यानाकर्षण गराएका छन्, ।
जवाफमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको बताए ।