Sky Dainik सोमबार, साउन ३२, २०७८

काठमाडौं,साउन ३२। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो र यसको विरोधमा ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने बताएको हो।
यस्तै आयोगले गत साउन ११ गते सबै केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्दा ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जना उपेन्द्र यादव पक्षमा देखिएका थिए भने महन्थ ठाकुर पक्षलाई १६ जनाले समर्थन गरेका थिए ।
बहुमत सदस्यले समर्थन गरेपछि आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो भने महन्थ ठाकुर पक्षले कानुन अनुसार अर्को दल खोल्न सक्ने निर्णय गरेको थियो ।
आयोगको सो निर्णयविरुद्ध ठाकुरले साउन १५ पुनः सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले आयोगको निर्णयले निवेदकलाई तत्कालै अपूरणीय क्षति पुग्ने नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।