Sky Dainik मंगलबार, साउन २६, २०७८

काठमाडौं,साउन २६। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नलाई होइन यो देश र यस देशको सेवाको निम्ति जन्मिएको बताउनु भएको छ ।
प्रतिनिधि सभामा आज मङ्गलवार सम्बोधन गर्दै ओलीले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको समेत बताउनु भयो ।
‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भन्नुभयो, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उहाँले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताउनु भएको छ ।
ओलीले आफू जस्केलाबाट प्रधानमन्त्री यसअघि पनि नभएको र अब फेरि पनि मूलबाटो बाटै प्रधानमन्त्री बन्ने बताउदै असाधारण मतसहित फेरि पनि आफू सत्तामा आउने दाबी गर्नुभयो । उहाँले लोकतान्त्रिक प्रणालीका संस्थाहरू पनि मर्यादामा बसेर काम गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै अध्यक्ष ओलीले यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताउनु भएको छ ।