वीपी प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेमाथि कारवाही हुन्छः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

Sky Dainik शुक्रबार, साउन २२, २०७८

काठमाडौं,साउन २२। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रवारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’ उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि गराएका छन् ।

राज्यमन्त्री श्रेष्ठले जन स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाइ बनाउन लागेको बताएका छन् ।

बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यनाकर्षण गराएका छन् ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सरकारलाई सुझाव दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्