Sky Dainik शुक्रबार, साउन ०८, २०७८

काठमाडौं,साउन ८। आजदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालन गर्न पाइने निर्णय भएको छ ।
शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाको पालना गरी सार्वजानिक यातायात पूर्ण रुपमा खोल्न पाइने निर्णय गरेको हो ।
बैठकले शुक्रबार देखिनै सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने गरी निर्णय गरेको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिएका छन् ।
यस्तै बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने निर्णय गरेको छ ।