Sky Dainik बुधबार, साउन ०६, २०७८

काठमाडौं,साउन ६। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरलाई व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ ।
क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्के लगायत १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसको व्यवस्थापनका लागि भन्दै १८ बुँदे सुझाव पेश गरेका हुन् ।
प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न आग्रह गरेको छ ।
यस्तै स्वास्थ्य प्रणालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने र अस्पतालहरुमा बेड, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पर्ने सुझावहरू समेटिएका छन् ।
यस्तै सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्ने साथै १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन सुझाव पनि दिइएको छ ।
प्रतिष्ठानले कोरोना महामारीको समयमा मानसिक समस्यासँगै मुटु, फोक्सोको रोग, मस्तिष्काघात र पखाला लगायतका रोगको कारण बढी मानिसको मृत्यु हुने भएकाले यस्ता रोगको उपचारलाई पनि ध्यान दिन सुझाव दिएको छ ।
प्रधानमन्त्री देउवालाई सुझाव दिनेमा डा. मास्केसहित कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समिर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदी रहनु भएको छ ।