Sky Dainik शुक्रबार, आषाढ २५, २०७८

२५ असार, काठमाडौं । सकारले चीनसँग खरिद गरेको आठ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ ।
चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी जहाज मार्फत आज बिहान नेपाल आइपुगेको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार पहिलो खेपमा वाइडबडी जहाजले ८ लाख डोज खोप ल्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख डा.रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताएका छन् ।
पहिलो खेप खोप ल्याउनका लागि बिहीबार साँझ वाइडबडी जहाज चीनतर्फ गएको थियो । तीनवटा उडानमार्फत साउन ८ गतेसम्म खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकार गराएको छ ।
यस्तै कूल जनसङ्ख्या मध्ये दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ भने यो खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी रहेको छ ।