Sky Dainik मंगलबार, आषाढ १५, २०७८

१५ असार, धनगढी । कैलाली जिल्लामा बुधबारबाट जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन चलाउन पाइने निर्णय भएको छ ।
मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर– बिजोर प्रणालीका आधारमा सन्चालन गर्न पाइने आदेश गरेका छन् ।
उक्त आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउने पाइनेछ । त्यसैगरि बुधबारदेखि जिल्लामा होटल, रेष्टुरेन्ट र चिया पसलबाहेकका सबै पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा होटल तथा रेष्टुरेन्टले बिहान ६ देखि ८ बजेसम्म होम डेलीभरी भने गर्न सक्नेछन् । तर कोरोना संक्रमणकोदर घटे पनि जोखिम कायमै रहेको हुनाले मानिसहरुको भीडभाड हुने सभा, सम्मेलन, गोष्ठी तथा कुनै पनि प्रकारका कार्यक्रम गर्न भने पाइने छैन् ।अधिकारी रिजालले यसअघि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै अगामी असार २२ गतेसम्म निरन्तरता दिने आदेश गरेका छन् ।
कैलाली जिल्लामा यस अघि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।