Sky Dainik मंगलबार, आषाढ १५, २०७८

१५ असार, काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात आज बाट सञ्चालन गर्न दिएको छ ।
कोरोना सङ्क्रमणदर घटेतापनि तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा सङ्क्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाव दिएका छन् ।
सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सार्वजनिक गाडी चलाउन पाइनेछ ।
आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस सन्चालनमा रहेका छन् । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले अनिवार्य रुपमा पञ्जा लगाउनुपर्ने र गाडी निसङ्क्रमित गर्नु पर्नेछ ।
त्यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरीरपुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।