Sky Dainik आइतबार, आषाढ ०६, २०७८

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । थपिएको निषेधाज्ञामा दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइने निर्णय भएको छ ।
योसँगै हार्डवेयर पसल भने दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छन् । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल खुल्ने छ । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
यस्तै बारका आधारमा खुल्ने पसलहरुलाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ ।