Sky Dainik आइतबार, आषाढ ०६, २०७८

६ असार, काठमाडौं । कोरोना भाइस संक्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको छ ।
असारको अन्तिम साता परीक्षा सञ्चालन गर्न स्वीकृति मागिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिएका छन् । ‘गत वर्ष नै परीक्षा सकेर पठनपाठन सुरु भइसक्नुपर्ने हो, अहिलेसम्म हुन सकेन,’ उनले भने, ‘निषेधाज्ञा कायम नै रहे पनि परीक्षा गर्ने गरी अनुमति मागेका छौं ।’ चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएममी) सँग स्वीकृति मागेको छ । र विधार्थीहरुलाई प्रवेशपत्रका आधारमा आउनेजाने अनुमति दिने व्यवस्थासहित असार २६ गतेबाट परीक्षा सञ्चालनको अनुमति मागिएको आयोगले जनाएको छ ।
अवस्था सहज हुन पुगेमा असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साउन मसान्तसम्म कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने तयारी भएको छ ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले संक्रमण दर घट्दै गए विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने जनाएका छन् । यही बेला परीक्षा लिनु भन्न सक्ने अवस्था नभएको र भदौअघि कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुन सक्ने अवस्था पनि नरहेकोले विद्यालयले आफ्नै निर्णयमा परीक्षा लिन सक्ने अर्यालले बताएका छन् ।
बोर्डले कक्षा ११ का विद्यार्थीलाई एक साताभित्र सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने जानकारी प्रस्तुत गरेको छ । कक्षा १२ को हकमा भने भदौसम्म सकभर पहिले जस्तै लिखित परीक्षा नै सञ्चालन गर्ने योजना बनाइएको अर्यालले जनाएका छन् । कुनै निर्णय नभएता पनि तर विज्ञहरूको रायसुझाव अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्ने नै भन्ने भएको अर्यालले बताए ।
गत वर्ष घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो भने यस पटक पनि कक्षा १२ को परीक्षाका लागि अनलाइनबाटै देशभरका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । भदौमा परीक्षा सञ्चालन गर्न सके दसैं, तिहार पछाडि सामान्य अवस्थामा झैं विश्वविद्यालयहरूले स्नातक तहको नयाँ शैक्षिक सत्र थाल्न पाउने विज्ञहरूले बताएका छन् ।
गत जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो । करिब ४ लाख विद्यार्थी १२ को परीक्षाको तयारीमा रहेका छन् । असार १५ गतेसम्मको अवस्था हेरेर परीक्षाको मोडालिटीबारे निर्क्योल गरिने सदस्यसचिव अर्यालले जनाएको हो ।
यस्तै त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले परीक्षाको पूर्व तयारीका लागि सबै तहको परीक्षा आवेदन फाराम संकलनको काम भइरहेको जानकारी दिएका छन् । परीक्षा नियन्त्रण कार्यालयलाई केहि सहज अवस्था हुनेबित्तिकै परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन निर्देशन दिइएको उनले जनाएका हुन् । उनका अनुसार भर्चुअल विधिबाट पठनपाठन भइरहेको र रोकिएका परीक्षा सञ्चालनका लागि पनि गृहकार्य भइरहेको बताए सँग निषेधाज्ञा हटे असार अन्तिम सातादेखि परीक्षा सञ्चालन गर्न सकिने त्रिविले जनाएको छ ।