१२ हजार भन्दा धेरैको नमुना परीक्षण गर्दा थप २,४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

Sky Dainik आइतबार, जेठ ३०, २०७८

३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार चार सय ६ जनाको नमुना परीक्षण गर्दा थप २ हजार चार सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा पीसीआर विधिबाट १ हजार छ सय ९४ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात सय १३ जना गरी २ हजार चार सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

देशभर संक्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकामा ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा चार सय ८३, ललितपुरमा एक सय १२ र भक्तपुरमा ५८ जनामा संक्रमण पाइएको छ । गाउँघरमा सङ्क्रमणको जोखिम रहेकाले कोभिडको कुनै लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा परीक्षणका लागि जान प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताउनु भएको छ ।

आज नेपालमा ४४ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा धेरै सङ्क्रमण वाग्मती प्रदेशमा पाइएको छ । र वाग्मतीमा ३८ प्रतिशत, लुम्बिनीमा १६, प्रदेश एकमा १३, गण्डकी प्रदेशमा १०, कर्णाली प्रदेशमा सबैभन्दा कम पाँच प्रतिशत र सुदूरपश्चिममा नौ प्रतिशतमा सङ्क्रमण भेटिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४६ जनाले कोरोना संक्रमणका कारण ज्याल गुमाएका छन् भने थप ३ हजार नौ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्