Sky Dainik बुधबार, जेठ २६, २०७८

२६ जेठ, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी गरिएको निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।
गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएका छन ।
“यसअघि ‘लकडाउन’ थियो भने असारदेखि ‘लुज डाउन’ लागू गर्ने योजना समेत गरिएको छ । दाहालका अनुसार मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने र केही सहजीकरण भने पक्कै हुने छ । सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको हो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ । कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले उच्च गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारेका छन् ।
दाहालका अनुसार “दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय भएको ले मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना गरिएको छ । निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुझाइ छ ।
निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । र उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने अझै खुल्नेछैन ।